खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाले भर्खरै आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यन्वयनका लागि ३९ करोड १२ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ । अधिकांस पुरानाकै निरन्तरता र केही भने नयाँ र आकर्षक नीति तथा कार्यक्रमहरु समेत समावेश भएको देखिन्छ । पुरानाबाट सिकाई र जनलक्षित नयाँ कार्यक्रमहरु कार्यन्वयन गर्न सके विकास र सुशासनको पाटो सुधार हुनेमा दुई मत नहोला ।

पालिकाको १५औँ अधिवेशनमा अध्यक्ष शालिकराम बन्जाराद्धारा असार १० गते सोमबार प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, बिपद व्यवस्थापन, न्याय निरुपण मानवअधिकार प्रबद्र्धनका विषयलाई प्रमुख प्राथमिकता राखिएको छ । दीगो विकासका लागि पालिकाले केही नयाँ बुँदाहरु समावेश गरेको देखिन्छ जुन अक्षरस पालना हुन सके विकासको आभास बढ्ने थियो ।

विकाससँगै निम्तीने विनास र लापरबाहीलाई न्यूनीकरण गर्न पालिकाले नीति तय गर्ने भएको छ । जस अनुसार अबदेखि पालिकाभित्र हुने जुनसुकै भौतिक निर्माणका योजनाहरुमा प्रयोग भएका सामग्रीहरुको गुणस्तर चेकजाँच गरिने भएको छ । पालिकाभित्र निर्माण हुने भौतिक पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि निर्माण कार्यमा प्रयोग भएका सामग्रीहरुको ल्याव परीक्षण गरिने भएको अध्यक्ष शालीकराम बन्जाराद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । जसले आगामी योजनाहरुमा गुणस्तरको सवालमा आउने गुनासाहरु कमी हुने नागरिक अपेक्षा छ ।

त्यस्तै पालिकाले सामुदायिक विद्यालयमा दिइदै आएको दिवा खाजामा जंकफुडहरुको प्रयोग पूणर्रुपमा बन्द गराई स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्य सामग्रीको उपयोग अनिवार्य गर्न व्यवस्था मिलाउने नीति अवलम्बन गर्ने भएको छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहनसँगै बालबालिकाको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खाद्यान्न आयात गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी कृषि क्षेत्रलाई प्रबिधिमैत्री बनाउन किसानहरुलाई आवश्यक औजार उपकरण खरिदमा ५० प्रतिशतसम्म अनुदान दिइने भएको छ । जसले व्यवसायिक कृषितर्फ सर्वसाधरणलाई अग्रसर हुन प्रेरित गर्ने देखिएको छ । पालिकाभित्रका नागरिकलाई उपचारका लागि बाहीर जानुपर्ने बाध्यता हटाउन पाँच शैयाको सुबिधासम्पन्न अस्पताल निर्माणका लागि सम्बन्धित निकायसँग पहल अगाडि बढाउने योजना सफल भए सो क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढ्नेछ । यसका लागि स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिबृद्धिका लागि पालिकाले जनस्वास्थ्य ऐन जारी गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि पालिकाभित्र घरमा हुने डेलीभरीको पूर्ण रुपमा अन्त्य गर्न ‘जिरो होम डेलीभरी’को अवधारण पालिकाले अवलम्बन गर्ने भएको छ ।

त्यस्तै मधेस (सहरी) भूभागसँग पालिकालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक धाप्लाङ- धर्तुङ- सिन्ताङ हुँदै बराहपोखरी तथा बंशिलाघाट-मौवाबोटे हुँदै सिन्ताङसम्मको सडक स्तरोन्नतीका लागि साझेदारीमा आधारित बजेट बिनियोजन भएको छ । पालिकाभित्र रहेका सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्न विशष कार्यक्रम संचालन गर्ने भएको छ । जसले बराहपोखरी गाउँपालिकामा रहेका बिभिन्न पर्यटकीय क्षेत्रको पहिचान र पर्यटन प्रबद्र्धन गरी स्थानीयले आयआर्जन गर्ने अवसर समेत पाउने देखिन्छ । जलाधार संरक्षण र खोला नियन्त्रणको प्याकेज बनाई भू तथा जलाधार, पानीको मुहान, खोला, पोखरी, तलाउ, सीमसार क्षेत्र तथा जैविक बिबिधताको संरक्षणलगायतका कार्य पालिकाले आ.व. २०८१/०८२ का लागि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

सो अवसरमा कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको छ । सूचना प्रविधि अधिकृत सुजिब तामाङ, कम्प्युटर अपरेटर निरोज राई, प्रशासन सहाक पाँचौ देवान राई, सिनियर अ.हे.व. विकाउ चौधरी, सिनियर अ.न.मी. कल्पना शर्मा, अ.स. इन्जिनियर मिलन तामाङ र कार्यालय सहयोगी शुरेस खड्कालाई गाउँसभाको १५ औँ अधिवेशनमा प्रशंसापत्रसहित पुरस्कृत गरिएको हो ।

के शिर्षकमा कति बजेट ?
पालिकाको १५औँ अधिवेशनबाट उपाध्यक्ष भुवलराज राईबाट प्रस्तुत भएको वार्षिक बजेट तथा कार्यक्रममा ‘आर्थिक विकासका नविनतम सम्भावना र अवसरका क्षेत्रहरुको पहिचान र प्रबद्र्धन गर्दै समग्र आर्थिक विकास र समृद्धि हासिल गर्ने’ उल्लेख गरिएको छ । सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, सुलभ गुणस्तरीय शिक्षा, पूर्वाधार विकास, गरिवी निवारणलगायतलाई मुख्य प्राथमिकता दिइएको छ । कृषिमा आत्मनिर्भरता, नश्ल सुधारका लागि कृतिम गर्भधारण, कृषि तथा पशुपंछीका लागि ६१ लाख बिनियोजन भएको छ ।

साझेदारीमा आधारित सिंचाईका लागि ३० लाख निनियोजन भएको छ । सिंचाई संरचना निर्माणका लागि १ करोड ५ लाख, नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्न ३ करोड ७० लाख, समग्र गुणस्तरीय शिक्षाका लागि १२ करोड ६७ लाख बिनियोजन भएको छ । लैंगिक हिंसा निवारणका लागि ३१ लाख, श्रम रोजगार तथा सामाजिक सुरक्षाका लागि ७३ लाख, युवा तथा खेलकुदको लागि ५२ लाख ५० हजार बजेट बिनियोजन भएको छ ।

त्यसैगरी भौतिक निर्माणतर्फ धाप्लाङ- धर्तुङ- सिन्ताङ- बराहपोखरी सडक योजनाका लागि प्रदेश तथा संघीय सरकारको साझेदारीमा लगानीका लागि १ करोड बिनियोजन भएको छ । सडक पूर्वाधारका लागि समग्रमा ४ करोड ७० बिनियोजन भएको छ । बराहपोखरी गाउँपालिकाको निर्माणाधीन प्रसाशकीय भवनका लागि १ करोड ३ लाख, ४ नम्बर वडा कार्यालय भवन निर्माणका लागि ५३ लाख, बराहपोखरी तालको पैदलमार्ग निर्माणका लागि ४० लाख, भवन तथा आवासका लागि २ करोड २० लाख बिनियोजन भएको छ । त्यस्तै वातावरणसँग सम्बन्धित कार्यक्रम संचालन गर्न ४ लाख र गरिवी निवारणका लागि ४८ लाख बजेट छुट्याइएको छ । बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, उपभोक्ता समिति, सन्चारकर्मी तथा आम नागरिक सबैको सहयोग र समन्वय आवश्यक रहने प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)