उदयपुर । उदयपुरमा पाँच दिनअघि सम्पर्क बिहीन भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेलका नगरपालिका वडा नम्बर-३ एकता टोलका स्थानीय अन्दाजी ६३ वर्षीय ज्ञानप्रकाश मेनेङा लिम्बू मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लिम्बू असोज १२ गतेदेखि बेपत्ता अवस्थामा थिए । साँझ ७ः०० बजेतिर एक्कासी सम्पर्कबाहीर भएका उनी रातभर घर नआएपछि परिवारले बिहानैदेखि हालसम्म बिभिन्न ठाउँमा खोजतलास गर्दै आएको स्थानीयले जानकारी दिएका छन् ।
लिम्बू घरबाट गायब भएको पाँचौ दिन स्थानीयले उनलाई एकता टोलकै धानबारीमा देखेपछि प्रहरीलाई खबर गरेका हुन् । अविरल वर्षाका कारण नजिकै सप्तकोशी बस्ती छिरेपछि बाढीले बगाउदा लिम्बूको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । लिम्बूको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ ।
योसँगै केही दिनअघिको भिषण बाढीपछि उदयपुरमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि जिल्लाको रौतामाई गाउँपालिका १ माझखर्ककी १६ वर्षीया बालिका हिसिला तामाङको घर नजिकै ओडारे खोलाले बगाउदा मृत्यु भएको थियो । त्यसैगरी अत्यधिक वर्षापछि बाढी र पहिरोका कारण यातायात अभावमा समयमै उपचार हुन नसक्दा जिल्लाको रौतामाई गाउँपालिका ६ बासबोटेका ७ वर्षीय एन्जल मगरको पनि आईतबार ज्यान गएको थियो । उनी गाउँमै सामान्य बिरामी हुन थालेपछि उपचारका लागि गाईघाट ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो ।