उदयपुर, जेठ १ ।
उदयपुरमा अत्यधिक सवारी दुर्घटना बढेको भन्दै स्थानीय युवाले सचेतना अभियान थालेको छ । जिल्लाको त्रियुगा नगरपालिका मोतिगडास्थित स्थानीय युवा समूह ‘थ्रीएम ब्रदरहुड’ले व्यस्त सडकमा जेब्रा क्रसिङ निर्माण कार्य सुरु गरेको हो ।
सुरुवाती चरणमा मोतिगडा चोक आसपास बिभिन्न ४ ठाउँमा जेब्रा क्रसिङ निर्माण भइरहेको थ्रीएम ब्रदरहुडका संयोजक वीरसबाबु शाहीको भनाई छ । पछिल्लो समय सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या अस्वभाविक रुपमा बढेकापछि न्यूनीकरणका लागि स्थानीय युवाहरुलाई जेब्रा क्रस निर्माण गर्न स्थानीय स्ट्यान्डर्ड भिजन इन्टरनेशनल एकेडेमीले रङलगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो ।
त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष तीलकबहादुर कटुवाल, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष देवराज राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट ट्राफिक प्रहरी हवल्दार भुवन राई, जवान कृष्ण घिमिरे र अभिषेक यादवले पनि जेब्रा क्रसिङ निर्माणमा सहभागीता जनाएका थिए । मोतिगडास्थित स्ट्यान्डर्ड भिजन इन्टरनेशल एकेडेमीले जेब्रा क्रसिङका लागि रङ व्यवस्थापनमा सहयोग गरेको हो । सो क्रममा अभियान संचालक संस्था थ्रीएम आबद्ध बशन्त सृष्टी, विशन राई, एकराज खड्का, ओमप्रकाश ठकुरी, सविन राउत, ओसीन गुप्ता, विशाल राई, पर्शुराम चौधरी, बिमल खतिवडा, नवराज ठकुरी र देवेन्द्र थापालगायतको उपस्थिती रहेको थियो ।
सो समूहले केही दिनअघि मात्र सरसफाई तथा लागुऔषध न्यूनीकरणका लागि जनचेतना जागृत गराउन उदयपुरको मोतिगडामा सरसफाई र सचेतना कार्यक्रम संचालन गरेको थियो । आगामी दिनमा पनि सामाजिक अभियान जारी रहने समूहले जनाएको छ ।