उदयपुर । अबदेखि वीमा गर्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । नेपाल वीमा प्राधिकरणद्धारा शुक्रबार जारी परिपत्र अनुसार यो नियम आगामी माघ महिनादेखि लागु हुनेछ । परिपत्रमा लागु हुने नयाँ नियम अनुसार आवश्यक तयारी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
जसअनुसार १ माघदेखि बीमा गर्ने व्यक्तिले नागरिकताको सट्टा अबदेखि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर उपलब्ध गराउनुपर्नेछ । गत असार १० गते राजपत्र प्रकाशन गर्दै जिल्ला र सेवाअनुसार १ साउन र १ माघदेखि गरी दुई चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । सोही अनुसार बैंकिङ तथा वित्तीय सेवा प्रयोजनमा माघबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भनिएको छ ।
त्यस्तै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय र ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने बीमा गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछैन । आउदो माघ महिनादेखि जारी हुने नयाँ बीमालेखसँगै बिमालेखको नवीकरण, ऋण, समर्पण, दाबी भुक्तानीलगायत सबै प्रकारका बीमा कारोबार राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ ।
यता बीमा मध्यस्तकर्ताको दर्ता-नवीकरणका साथै सेवा-सुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीको भनाई छ ।