उदयपुर । उदयपुरमा ‘प्रथम त्रियुगा जलजले महोत्सव–२०८१’ माघ २३ गतेदेखि सुरु हुने भएको छ । स्थानीय स्वर्णीम युवा क्लवले पर्यटन प्रबद्र्धनसँगै पार्क निर्माणका लागि त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको खेलमैदानमा पहिलो पटक फागुन ३ गतेसम्म महोत्सव संचालन गर्ने भएको हो ।
१० दिनसम्म आयोजना हुने महोत्सवबाट संकलित रकमले स्थानीय पार्क निर्माणका लागि खर्च गरिने मूल आयोजक समिति संयोजक रमाकान्त चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक प्रस्तुती रहनेछ ।
विशेष गरी पर्यटन, कृषि, शिक्षा, रोजगारसम्बन्धी सचेतनाहरु समेत स्टलका माध्यमबाट प्रबद्र्धन हुने आयोजकको भनाई छ । एक सय बढी स्टल संख्या रहने महोत्सव पूर्ण तयारीका लागि करिब ८० लाख बढी लगानी प्रक्षेपण गरिएको छ ।
महोत्सवबाट संकलित सम्पूर्ण रकमको ४० प्रतिशत जलजले नजिक रहेको पोखरीमा पार्क निर्माण र बोडिङका लागि लगानी गरिने संयोजक चौधरीले जानकारी दिए । त्रियुगा नगरपालिकाले संयोजन गर्ने महोत्सवमा सविन राई एण्ड फ्यारो, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगरलगायतका राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सवस्थलमा स्टल निर्माणका कामहरु धमाधम भइरहेको छ भने बिभिन्न मनोरञ्जनका सामग्रीहरु ल्याउने तयारी भइरहेको छ ।