उदयपुर, फागुन ३ । उदयपुरका १८ हजार तीन सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप लगाइएको छ । जिल्लाले अपेक्षा गरेको लक्ष्यको ९ प्रतिशत कम अर्थात ९१ प्रतिशत किशारी सो खोप कार्यक्रममा सहभागी भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उदयपुरमा कक्षा ६ देखि १० सम्म अध्ययतर किशोरीहरुलाई संचालन भएको अभियानमा २ सय ८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र २१ वटा गरी कुल ३ सय ९६ खोप केन्द्र रहेको थियो ।
स्वास्थ्य कार्यालयले यसअघि पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उदयपुरमा यसपटक २० हजार १ सय २२ जना किशोरीहरुलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको थियो । तर, ९ प्रतिशत कम अर्थात १८ हजार ३ सय ८९ किशोरीहरुले खोप लगाएका थिए भने एक हजार सात सय ३३ जना किशोरी सो खोप लगाउनबाट बन्चीत भएको तथ्यांकमा उल्लेख छ ।
पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान उत्साहजनक रुपमा सञ्चालन भएको स्वास्थ्य कार्यालयका उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए । खोप पहिलो पटक गत माघ २२ गतेदेखि सुरु भएको थियो ।