उदयपुर, चैत १२ ।
उदयपुरबाट रोजगारीका लागि कुवेत पुगेका नेपाली युवाहरुको संस्था ‘उदयपुर लिमिजुली समाज कुवेत’ले तीन जनालाई आर्थिक सहयोग गरेको छ । जिल्लाको चौदण्डीगढी, रौतामाई र त्रियुगा नगरपालिकाका जटिल रोगका बिरामीहरुलाई आर्थिक सहयोग गरिएको हो ।
आर्थिक अभावका कारण गम्भीर प्रकृतिका रोगहरुसँग वर्षौदेखि पीडा झेल्दै आएका उनीहरुलाई समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहायता गरेको अध्यक्ष मोहन लुईंटेलले जानकारी दिनुभयो । जसअन्तर्गत उदयपुर चौदण्डीगढी ५ का काशीनाथ आचार्य बिगत ३ वर्षदेखि मृगौलाले काम नगर्ने समस्या देखिएपछि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् ।
त्यस्तै उदयपुर रौतामाई ४ का तिलकबहादुर रायको मेरुदण्डमा समस्या देखिए पनि आर्थिक अभावका कारण लामो समयदेखि घरमै रहेका छन् । यता त्रियुगा नगरपालिका ११ कि अञ्चला बर्यालले पनि आर्थिक अभावकै कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने स्वास्थ्य समस्या वर्षौदेखि झेल्दै आएकी छन् । सो रकम समाजका विभिन्न पदाधिकारी तथा सदस्यहरूबाट स्वेच्छिक रुपमा संकलन गरिएको थियो । आगामी दिनमा पनि समाजले सामाजिक उतरदायित्व बहन गर्दै जाने बताइएको छ ।