उदयपुर, जेठ ३ ।
उदयपुरमा अपाङ्गता भएका बिभिन्न लक्षित व्यक्तिलाई परिचय पत्र बितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने क्षेत्रमा अपाङ्गता भएकाहरुलाई स्वास्थ्य परीक्षणसहित कार्ड बितरण भएको हो ।
परिचय पत्र बितरणसँगै अपाङ्गता भएकाहरुको ग्रेडिङका लागि मापदण्ड अनुसार स्वास्थ परीक्षण शिवीर संचालन गरिएको थियो । जसअन्तर्गत कार्यालयमा नाम दर्ता हुने ४६ जनामध्ये नयाँ ‘क’ वर्गका अपाङ्गता भएकाहरुको संख्या ६ जना थपिएको वडाध्यक्ष हिमराज मगरले जानकारी दिए ।
त्यस्तै ‘ख’ वर्गअन्तर्गत पर्ने १३ जना अपाङ्गता भएकाहरुको संख्या थप भएको परीक्षण तथ्यांक अनुसार उल्लेख छ । नयाँ ‘क’ र ‘ख’ समूहमा परेका १८ जनालाई एकैसाथ परिचय पत्र उपलब्ध गराइएको हो । परिचय पत्र बाहकको स्वास्थ्य अवस्था जाँच्न आयोजित शिवीरमा त्रियुगा नगरपालिको सामाजिक शाखाका कर्मचारी तथा स्वस्थकर्मी र जनप्रतिनिधिहरुको सहभागिता थियो ।
अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा ९ः अपाङ्गता भएकाहरुका लागि भत्ताको व्यवस्था मिलाउन सकिने उल्लेख छ । जसअनुसार पूर्णअशक्त, तथा आंशिकलगायतको आधारमा वर्गीकरण गरी मासिक अशक्त वृत्तिबापत सम्बन्धित वडा कार्यालयबाट रकम पाउने गरेका छन् ।