उदयपुर । उदयपुरका कलाकार सीताराम केसीद्धारा अभिनित म्यूजिक भिडियो छोटो समयमा लोकप्रिय बनेको छ । चर्चित लोकगायिका विष्णु माझी र निखिल विसीको स्वरबद्ध ‘घाउँ छ मुटुभरी’ बोलको गीतमा निर्देशक समेत रहेका सीतारामसँगै कल्पना न्यौपाने र कमला राईले अभिनय गरेको म्यूजिक भिडियो दर्शकमाझ लोकप्रिय बनेको हो ।
म्यूजिक भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई दर्शाइएको छ । दोहोरो प्रेममा देखिएका सीतारामको स्टोरी कन्सेप्ट भने रमेश शेसीले तयार पारेका हुन् । मोडल केसीको आफ्नै निर्देशनमा बनेको म्यूजिक भिडियो राजेन्द्रकुमार थापाले कैद गरेका हुन् भने सिनेम्याटोग्राफी सम्पादन भविन्द्र तामाङले गरेका छन् । पोस्टर प्रोडक्सनको जिम्मेवारी भनेसेन्फी टिभीले लिएको छ ।
गीतको शव्द लेखन टेकम पाण्डे ‘जिज्ञासु’ले गरेका छन् । रामु खड्काले संगीत भरेको गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । खड्क बाजुरालीले मिक्स मास्टर गरेको गीतलाई मालाश्री स्टुडीयोमा रेकर्ड गरिएको हो । मान जिसी, मुना रोक्का, बशन्त सुनाम, रोज थापा, सोफिया भुजेल र चन्द्र चिदाललगायतलाई म्यूजिक भिडियो निर्माण टिमले विशेष धन्यबाद समेत दिएको छ ।
लामो समयदेखि बैदेशिक रोजगारीको क्रममा कतार रहेका सीताराम गीत संगीत र कलाकारिता क्षेत्रमा सक्रिय हुँदै आएका छन् । रोजगारसँगै बचेको समय सदुपयोग गर्दै उनले थुप्रै गीत र म्यूजिक भिडियोहरुमा निर्देशन, अभिनयलगायतको क्षेत्रमा काम गरिसकेका छन् । ‘जरुवा पानी टिभी’ नामक युट्युब च्यानलबाट सार्वजनिक म्यूजिक भिडियो छोटो समयमै लाखौले हेरिसकेका छन् । त्यस्तै टिकटक, फेसबुक रिल्स र इन्स्टालगायत सामाजिक संजालमा समेत गीतको चर्चा देखिएको छ ।